ह्याट लाउने रहर पहिले देखि।
रहर हुँदाहुँदै नि किन्न सकिरा थिइन! लगाउन अप्ठ्यारो मानेर वा लगाउने ठाउँ नभएर, त्यो चाहि थाहा छैन। जे होस् मन अति नै थियो शिरमा ह्याट ढल्काएर हिड्ने।
छैटौँ सेमेस्टर सकिएपछि इस्टर्न टुर फिक्स भो। पुर्व तिर घुम्न जाने। घुम्न जाने अर्थात ह्याट लगाउने सुइटेबल टाइम ।
जाने बेलासम्म किन्नै बिर्सिएछ। ल बर्बाद। यसपटक घुम्दा नि ह्याट नहुने भो मसंग। म बेखुश भए।
नेपालको पूर्वी भाग घुमेपछि हामी सिक्किम गयौ। दुई रात सिक्किममा बिताएपछि हामी दार्जिलिङ गयौ। दार्जिलिङमा घुम्दा एक पसलमा एउटा खैरो खैरो रङको ह्याट भेटाए। बाहिरबाट बेरिएको एउटा फुर्काले ह्याटलै झनै मनमोहक बनाएको थियो।
९० आइसी तिरेर मैले त्ह्याट किने।
किनेपछि त्यो ह्याट मैले छोड्दै छोडिन। जति बेला नि लगाइराखे। मानौ एकछिन कतै छोडे भने त्यो ह्याट टाढिन्छ जस्तो लाग्थ्यो मलाई ।
दार्जिलिङ पछि हामी नेपाल फर्कियौ। टुरको अन्तिम दिन पहिले कोशी ब्यारेज गयौ।
ब्यारेजमा जादा हावा चलिराखेको थियो, सरर...
निकै मनमोहक वातावरण थियो। त्यत्तिकैमा सर आउनुभयो।
"हेरौ त भाइ बहिनी कति रोमान्चक दृश्य छ।" -सरले भन्नुभयो।
यत्तिकैमा हावा जोडले चल्यो। "ओहो ह्याट उडाउछ क्या " म डराउदै ह्याट हातमा लिए।
"यस्तो राम्रो ठाउँमा आएर त्याग गर्न सकिहालिन्छ नि" सरले सटाएर हान्नुभयो।
"ह्याट चाही सकिन्न सर" मैले सटाएरको बिरोधमा बोले।
"माया प्रेम सब दिनका लागि त हो नि" सर हास्दै फोटो खिचाउन तिर लाग्नुभो।
"माया दिने हो सर ह्याट त होइन" म नि ब्यारेजबाट कोशी अवलोकन गर्न तर्फ लागे।
यो क्रममा साथि अजिताको क्याप हावाले उडाएर कोशीमा बगायो। यसपछि सबैजना सतर्क भए। म पनि ह्याट टाइट्ली पकडिरहे।
हातमा पकडदा झन् खस्छ कि भन्ने डरले मैले ह्याट लगाउन खोजे।
ह्याट लगाउदै गर्दा कसैको हातले मलाई धक्कायो। मेरो हातको ह्याट पकडने ग्रीप कमजोर भयो अनि हावाको झोकले ह्याट उडाएर कोशीमा बगायो।
एकै छिन त म हेर्या हेर्यै भए । थाह नै पाइन। केही समय मुटु नै रोकिए जस्तो भान भयो। कोशी नदितिर नजर घुमाए। अजिताको क्याप तैरिरा रै'छ। मेरो त सिधै डुवाएछ। अन्तिम पटक अवलोकन गर्नु नि पाइन।
साँच्ची साह्रै मनपर्ने कुरो गुमाउनै पर्दो रैछ। मैले त्यो दिन बुझे। मैरो मन पर्ने ह्याट कोशीलाई दान भयो। यस्तै कतै जिन्दगीमा पनि एकदम मनपर्ने कुरो कतै अरूलाई सुम्पिनु पर्ने त हैन?
यो प्रश्नले झस्किन्छु म घरि घरि।
तर फेरि सम्झिन्छु, जुन कुरा तिम्रो हो , त्यो जसरी नि तिमी सामु आइपुग्छ। टाढा जाने कुरा तिम्रो थिएन भनेर चित्त बुझाउछु।

No comments:
Post a Comment